काठमाडौं– प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउने निर्णय पारित गरेको छ। आइतबार समितिको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको भए पनि उनी उपस्थित भएका थिएनन्।
समितिले प्रधानमन्त्रीलाई बोलाइएको र नआएकोमा ध्यानाकर्षण गराइन्छ भन्ने निर्णय भएको सभापति पवित्रा निरौला खरेलले बताइन्। तर, कांग्रेस सांसदहरूले भने विरोध जनाए। उनीहरुले विरोध छ भन्दाभन्दै निर्णय गरिएको थियो।
कांग्रेस सांसद्हरु पुष्पा भुसाल र दिव्यमणि राजमण्डारीले विरोध जनाएका थिए। उनीहरुले प्रधानमन्त्रीलाई स्पष्टीकरण जस्तो गरी ध्यानाकर्षण गराइनु नहुने बताएका थिए।
समितिले आइतबार नेपालको परराष्ट्र नीति कार्यान्वयनका सम्बन्धमा, प्रधानमन्त्रीको निकट भविष्यमा हुन गइरहेको संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा र विविध कार्यसूची राखेर बैठक आयोजना गरेको थियो। समितिमा प्रधानमन्त्रीलाई बोलाइएको भए पनि उनी सहभागी नभएपछि एमालेका सांसदहरूले असन्तुष्टि व्यक्त गरेका थिए।
प्रधानमन्त्रीको तर्फबाट समितिमा नआउने भनेर आइतबार बिहान ८ बजेमात्रै जानकारी गराइएकोमा सभापति खरेलले पनि असन्तुष्टि जनाएकी थिइन्। उनले समितिको अपमान भएको बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।