काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तुरुन्त कार्यान्वयन हुनुपर्ने माग गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आफ्नो तर्फबाट यस विषय उठाइएको सो पार्टीका 'सम्मानित नेता' झलनाथ खनालले बताए।
'मन्त्री फेर्ने निर्णय हाम्रो पार्टीले गरिसकेको छ। त्यसको कुनै विकल्प छैन', बैठकमा पार्टीको तर्फबाट राखिएको धारणा सुनाउँदै खनालले नेपाल लाइभसँग भने, 'त्यसको तुरुन्त कार्यान्वयन हुनुपर्छ।'
प्रधानमन्त्रीले पनि एकीकृत समाजवादीको सो चासोमा सहमति जनाएको खनालले बताए। 'उहाँले 'हुन्छ हुन्छ' भन्नुभयो', उनले भने, 'तर यही दिन कार्यान्वयन हुन्छ भनेरचाहिँ भन्नुभएन।'
नेकपा एकीकृत समाजवादीले केही हप्ताअघि नै मन्त्रीहरु फेर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्रीले त्यसको कार्यान्वयनमा रुचि देखाएका छैनन्। सो निर्णय कार्यान्वयन भए अन्य पार्टीभित्र पनि अप्ठ्यारो निम्तिने नेताहरुले बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।