‘तिमीले मलाई बुझेको छौ?’
उसको निधार खुम्चिएको थियो, आँखा रसाएका थिए। ओठ सुक्खा थिए।
‘किन? के भयो र? एक्कासी यस्तो प्रश्न किन?’ मैले हतोत्साहित नभइ प्रश्न गरेँ।
बाहिर सिमसिम पानी बर्सिरहेको थियो। मीठो दुध चिया, एक चुस्की, दुई चुस्की गर्दै मेरो कपको चिया सकियो। उसको कपमा चिया आधा बाँकी थियो। आँखा उत्तिकै रसाएका थिए। ओठ पनि सुक्खै थिए।
‘अब निस्कौँ है,’ मैले इसारा गरेँ।
‘हुन्छ।’
त्यो कपमा आधा चिया बाँकी नै थियो। मेरो प्रश्नको उत्तर आउँदैन भन्ने निश्चित नै थियो। किनभने यो कुनै नौलो कुरो थिएन। के थाहा त्यो आधा कप चियाले आधा बुझाइ भएको संकेत गरेको हो की?
पानी पनि रोकियो। चियाको बिल तिरेर हामी क्याफेबाट आफ्नो बाटो लाग्यौँ। ओभर थिंकिङ गर्ने मेरो बानी गएको छैन। मलाई अझ ओभर थिंकिङको किङ् नै भन्न सुहाउँछ।
क्याफेबाट अलि हिँडेपछि एउटा भुल भएझैँ लाग्यो। यो असामान्य भित्रको सामान्य कुरा थियो। उसलाई मैले सान्त्वना दिनुपर्ने थियो भन्ने लाग्यो। मैले नबुझेको उसलाई, समाजले नबुझेको उसलाई, राज्यले व्यवहारिक रूपमा नबुझेको उसलाई। अब कसले बुझने त? उसले त कहिले कोही आफूले आफैंलाई नबुझ्ने गरेको कुरा गर्थ्यो।
‘मैले आफैंलाई बुझ्न सकेको छैन। को हो त म? के हो मेरो परिचय? म पुरुष कि महिला? के हो मेरो अस्तित्व?’ ऊसँगको सातौँ भेटमा भएको यो संवाद सम्झन्छु।
‘तिमी गे हौ?’
एक दिनको भेटमा उसले प्रश्न गर्यो। मलाई अलिकति डर पनि लाग्यो किन यस्तो प्रश्न आयो भनेर।
‘नाई! आइ एम् इस्ट्रेट।’
‘तिमीलाई एलजीबीटी थाहा छ?’ उसले पुनः प्रश्न गर्यो।
‘थाहा छ। समलिङ्गीहरूको समूह हो।’
‘नेपालमा गे मेरिज लिगल छ नि!’ उसले मुस्कुराउँदै भन्यो।
‘बाइ द वे, आइ एम गे।’
मेरो धड्कन अझ बढ्यो।
‘म निस्किन्छु ल!’ भनेर म छुट्टिएको थिएँ।
त्यो रात मलाई मनमा खट्पटी भयो। आखिर परिचय त नाम, थर, गोत्र, मावली, कार्यस्थल, शारीरिक लैंगीकताका आधारमा मात्र नहुने रहेछ। तीन महिनादेखि सम्पर्कमा रहेको एउटा केटा मान्छेले समलैंगिकताको कुरा गर्दा मलाई अनौठो लाग्यो।
उत्सुक भएर मैले गुगल गरेँ– ‘ह्वाट् इज गे?’
गुगलले देखाएको एउटा अर्थ थियो, ‘समलिंगी’। र अर्को अर्थ ‘हलुका हृदय भएको’ भन्ने थियो। हलुका वा कमलो हृदय भएको व्यक्तिसँग मैले डराउनुपर्ने किन? त्यो शब्दले मलाई एउटा उर्जा मिल्यो, समलिंगीको बारेमा थप अध्ययन र अनुसन्धान गर्ने। त्यो रात मैले धेरै वेवसाइटहरू हेरेको थिएँ, समलिंगीको अस्तित्व र संघर्ष खोज्न।
कतै भेटेँ, ‘लिंग वा सेक्स भनेको, जैविक विशेषता हो र लैंगिकता भनेको सामाजिक विशेषता हो।’
समाज त सबै प्रकारका मानिसहरूको साझा बसोबास हो। यदि, त्यसो हो भने त्यही समाजको एउटा इमान्दार मान्छेसँग किन डराउनुपर्ने?
उसलाई ह्वाट्स एपमा लेखुम् कि भन्ने लाग्यो, तर आँट आएन। त्यो रात सोचेर र खोजेर अल्झनमै बित्यो, जीवन संघर्ष र पहिचान।
अर्को दिन क्याफेमा फेरि भेट भयो। मेरो अगाडिको कुर्सीमा बस्यो ऊ।
‘मेरो साथीको बाबाले मलाई छक्का भन्नुभयो।’
मैले भन्नु पहिले उसले ओठ खोल्यो। उसका आँखा रसिला थिए र ओठ उस्तै सुक्खा। साँच्चै, गुगलले भनेझैँ ऊ कोमल हृदय भएको जस्तै लाग्यो।
‘मेरो साथीलाई पनि पिट्नुभयो। मेरो कारणले उसले पिटाइ खानुपर्यो। ऊ मेरो बोईफ्रेन्ड हो। मेरो आकर्षण केटाहरूप्रति हुन्छ। यो किन भयो कसरी भयो मलाई थाहा नै छैन। म मेरो आइडेन्टिटी खोज्दैछु। म आइडेन्टिटरी हराएको मान्छे भएको छु।’
ऊ निसासिएको थियो। यति बोलेपछि अलि हलुका भयो कि उसलाई! तर, म निरिह थिएँ। उसका आँखामा समस्याको पहाड थियो। संघर्षको पहाड थियो।
‘आई एम् हियर फर यु। म तिमिलाई सपोर्ट गर्छु। एज अ फ्रेन्ड, आइ विल बि अ पार्ट अफ योर स्ट्रगल एण्ड एक्जिस्टेन्स।’
मैले सान्त्वना दिने प्रयास त गरेँ। ऊ मुस्कुरायो पनि। साँच्चै केही शब्दले नै कति फरक ल्याउँछ है! मलाई बल्ल भारी बिसाएजस्तो भयो।
यस्ता कयौँ चरणहरूमा मैले उसलाई रसिला आँखा र सुक्खा ओठमा देखेको छु। ऊसँगका हरेक भेटमा उसले आफ्नो पहिचान खोज्ने गरेको छ।
सोच्दा सोच्दै म कोठा पुग्न लागेँछु। पानी पछिको घाम, काठमाडौंको आकाशमा इन्द्रेणी देखापर्यो। इन्द्रेणीमा रङजस्तै समाजमा उनीहरूको लैंगिक परिचय उत्तिकै छर्लङ्ग भएको सम्झिएर म निदाएँ। हो साथी त्यो रात म मस्तले निदाएँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।