सिन्धुली–राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छन्। सिन्धुलीको दुधौली नगरपालिका–३ झुँगामा बिहीबार वृक्षरोपणपछि आयोजित कार्यक्रममा उनले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताएकी हुन्।
विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका विरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन्। सो समारोहमा सम्बोधनका क्रममा उनले जङ्गली वन्यजन्तुको बासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई–मधेस क्षेत्रमा सिँचाइका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे नै भएको बताइन्।
तराई–मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य भएको उनको भनाइ छ। चुरे क्षेत्रमा रहेका स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको सङ्कलन र उत्खनन गर्न उनले अनुरोध गरिन्।
तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थीतिकीय प्रणालीलाई प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररुपमा बाँच्न दिनु पर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।