काठमाडौं– स्थानीय निर्वाचन सम्पन्न भएसँगै प्रदेश र संघीय चुनाव चर्चा सुरु भएको छ। यसका लागि आकांक्षी उम्मेदवारहरूले आ–आफ्नो तयारी थालिसकेका छन्।
निर्वाचन आयोगले कात्तिक अन्तिम सातादेखि मंसिर पहिलो सातासम्म निर्वाचन गर्ने तयारी गरिरहँदा उम्मेदवारी घोषणा हुन थालेको छ। काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचनअघि नै चर्चामा आउने देखिएको छ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल त्यही क्षेत्रबाट प्रनिधित्व गर्छन्। गएको निर्वाचनमा उनीसँग नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिस्पर्धा गरेका हुन्। उक्त निर्वाचन क्षेत्रबाटै आगामी प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्ने तयारी जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट मानुषी यमी भट्टराई र स्वतन्त्रबाट रञ्जु दर्शनाले गरेका छन्।
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरीसमेत रहेकी मानुषीले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय संसद्को निर्वाचनमा उम्मेदवार बन्ने बताएकी छिन्। पार्टी र युवाहरूबाट उम्मेदवार बन्न प्रस्ताव आएपछि आफू तयार भएको उनले बताएकी छन्।
साथै यता रञ्जु दर्शना पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छिन्। अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उनी तत्कालीन विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेकी थिइन्। उनले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन्। स्थानीय निर्वाचनअघि उनले आफूले काठमाडौं महानगरको मेयरको उम्मेदवारी दोहोर्याएर नदिने तर राजनीति नछाड्ने भन्दै संघीय निर्वाचनमा लड्ने संकेत गरेकी थिइन्।
स्वतन्त्र रुपमा उठ्न लागेकी दर्शनाले केही दिनमै औपचारिक जानकारी दिने बताएकी छिन्। राजनीतिमा युवाको प्रवेश हुनुपर्छ भन्ने आवाज उठाउँदै आएकी दर्शनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गर्नुका पछाडी यसपटक स्थानीय तह निर्वाचनमा स्वतन्त्रप्रति गरिएको विश्वास रहेको बताइएको छ। त्यसैमाथि विवेकशील साझामा आएको फुटले स्थानीय तहको चुनाावअघि उनको समूह बाहिरिएको थियो र स्वतन्त्र उम्मेदवारलाई सघाएको थियो।
मानुषीले जनप्रतिनिधिका रूपमा आफूलाई चुनावमा जाँचेकी छैनन्। तर, लामो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन्। राजनीतिक परिवारमा हुर्केकी तथा चिनिएकै उम्मेदवार भएका कारण उनको सम्भावना बलियो नै छ।
पूर्व प्रधानमन्त्री भट्टराईसँग जोडिएर उनले विवादमा आएकी छैनन्। पारिवारिक पृष्ठभूमिको लाभ पनि लिएकी छैनन्। रञ्जु र मानुषी आफैंमा उदाउँदा लिडर त हुन् नै तर उनी दुवैलाई संघीय संसद्को निर्वाचन उनीहरुका प्रतिस्पर्धी कमजोर छैनन्।
किनकी अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसका दुई प्रभावशाली नेताबीच भीडन्त भएको थियो। एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्दा २३ हजार २९ मत आएको थियो भने नेपाली कांग्रेसका प्रवक्ता डा.महतले १३ हजार १ सय ६९ मत ल्याएका थिए।
पोखरेल यहि निर्वाचन क्षेत्रबाट दोहारिने पक्का छ। डा. महत नुवाकोट १ जाने सम्भावना पनि बढेको कांग्रेस नेताहरु बताउँछन्। डा महतले ठाउँ खाली गर्दा कांग्रेसका युवा नेता प्रदीप पौडेल यही क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ। त्यस्तो अवस्थामा प्रतिष्पर्धा झन् रोचक मोडमा पुग्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।