काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै कुरा नभएको बताएका छन्। बुधबार संघीय संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले प्रधानमन्त्री देउवाले पनि आफूहरुलाई मन्त्री बन्न आउनु भने नभनेको बताए।
नेता कर्णले भने, 'हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको। प्रधानमन्त्रीले हामीलाई मन्त्री बन्न आउ भन्दै नभनेको कुरो तपाईंहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ।’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोसपासँग पार्टी एकताका लागि तयार रहेको भनेर दिएको अभिव्यक्तिप्रति नेता कर्णले असन्तुष्टि व्यक्त गरे। यादवले बाटो– बाटोबाट एकीकरणका लागि आव्हान गरेको कर्णको भनाइ छ।
यादवले विगतमा आफुहरुलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले सहयोग खोजेको बताए। संकट निवारण भएपछि यादवमा लखेट्ने प्रवृत्ति रहेको कर्णको भनाइ छ।
'हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकीकरण गरेर जोगाएको होइन? त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन? अनि केको मेल?' कर्णले भने, 'आज फेरि पार्टीमा संकट उत्पन्न भएको छ उहाँको। संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने, र संकट निवारण भएपछि लखेटिदिने।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।