काठमाडौं– बागमती प्रदेश सभाका सदस्य (प्रदेश सांसद)हरुले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम नभएको बताएका छन्। विपक्षीका सांसद्हरुले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्ता पक्षका सांसदहरुले समर्थन गरेका छन्।
बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सांसद रमेश पौडेलले प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताए।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमको मात्रै रहेको पौडेलको भनाइ छ। प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपत्जन्य जोखिम न्यूनीकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्वतयारीका हिसाबमा सरकारले नसोचेको आरोप लगाए।
सभासद पौडेलले गत वर्ष सिन्धुपाल्चोकको घटनालाई हेरेर विपत्ज्नय कुरामाहरुमा चासो र चिन्ता राख्दै सम्भावित घटना हुन नदिने कार्यक्रम नीति तथा कार्यक्रममा नरहेकोले मेलम्ची लगायत जोखिम स्थानका बासिन्दाहरु यसबाट त्रसित रहेको बताए।
उनले नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्ने स–साना कामलाई प्राथमिकता दिएको देखिएको भन्दै प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको पनि बताए।
सत्तारुढ दल यता नेकपा (एकीकृत समाजवादी) की सांसद रमा आलेमगरले भने आगामी वर्षको लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतका सरकारहरुको तुलनामा राम्रो भएको दाबी गरिन्। यो नीति तथा कार्यक्रममा गठबन्धनका धेरै नेताहरुले छलफल गरेकोले पनि उत्कृष्ट रहेको बताइन्।
सांसद आलेले नीति तथा कार्यक्रममा किसानसँग सम्बन्धित कार्यक्रम, महिलासँग सम्बन्धित कार्यक्रम र मजदुरसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।