काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढ्छ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे।
उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ति भएन भनेर पनि उनले प्रश्न गरे। सांसद सिंहले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरेर त्यहाँका सदस्यहरुलाई अर्को समितिमा राख्ने व्यवस्था गर्न पनि सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए। सरकारलाई नचाहिने यो समिति राखिरहनुको औचित्य नभएको उनको भनाइ थियो।
सांसद सिंहले भने, 'बास्तवमा हामीले कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजिरहेका छौं। यहाँ यदि उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौं। चाहियो भने उपसभामुखको नियुक्ति आजसम्म किन भएन?'
सांसद सिंहले बागमती नदीको कटानका कारण सर्लाहीको बरहथवा वडा नम्बर १ को बस्ती जोखिममा परेको भन्दै त्यसको सुरक्षाका लागि तत्काल तटबन्ध निर्माण गर्न सरकारसँग माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।