काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यसपल्ट किसानलाई मल दिने कुरामा सरकार असफल हुने ठोकुवा गरेका छन्। मल आयात संरचनामा सुधार नगरिएको र मन्त्रालयसँग त्यसका लागि तदारुकता नभएकाले भन्दै मल आउन नसकेको थापाको भनाइ छ।
सरकारले तत्काल १ लाख ९२ हजार मेट्रिक टन आवश्यक रहेको उल्लेख गरेको बताउँदै उक्त मल आउने सम्भावना नरहेको थापाले बताए। उनले भने, 'सरकारसँग ७ हजार मेट्रिक टन रहेको भनिएको छ। ६० देखि ७० हजार आउने बाटोमा रहेको बताइएको छ। आउने दिनमा २ हजार मेट्रिक टनका दरले हो। त्यसो हुँदा मल समयमा आउँदैन। आउन सक्दैन।'
कृषि मन्त्रालयको संस्थागत क्षमतामा प्रश्न उठाउँदै उनले उत्पादन बढाउनका लागि चाहिने आधारभूत उत्पादन सामग्री मल ल्याउन नै नसकिएको बताए।
नेपालका लागि एक सिजनमा ५ लाख ३० हजार मेट्रिक टन चाहिने आकलन हुँदा पनि मल ल्याउने संरचना नबनाइएको थापाको भनाइ छ। उनले भने, 'सरकार फेरियो। मन्त्री फेरिए। मलको कथा यस्तै रहे।'
उनले यसपल्ट पनि मलका लागि सरकारले १५ अर्ब रुपैयाँ छुट्याएको, तर ल्याउने संरचना अझै नबनेको उल्लेख गरे। 'पैसा छ। संस्था छ। मन्त्रालय छ। मल आउँदैन। मौसम आउँछ। फेरि उस्तै किसानका आँसुयुक्त तस्बिर देखिन्छन्,' उनले थपे, 'उद्योग खोल्न सकिन्छ। त्यो हुन्छ खोलौं। खोलिहालौं। बदल्न के पर्ने हो बदलौं। यही अवस्थामा फरकपनको अपेक्षा गर्नु भनेको पागनपन हो। लज्जाबोध हुनुपर्ने हो। पैसा नपुगे भन्न हुन्थ्यो। ऐन, कानुन नभए बनाउन हुन्थ्यो। मल ल्याउन नचाहेको वा गर्न नसकेको? अब किसानका आँशुले पोल्छ।'
उनले धेरै वर्षदेखि यसबारेमा छलफल भइरहेको र पहल समेत गरिएको बताए। आफूले नै मन्त्रालय धाएर बताएको, प्रधानमन्त्रीलाँई भेटेर निर्देशन दिन लगाएको थापाको भनाइ छ। तर, कृषि मन्त्रालय र यस अन्तर्गतकको कृषि सामाग्री केन्द्रले काम नगर्दा समस्या उस्तै रहेकको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।