काठमाडौं– नेकपा एमालेका सांसद योगेश भट्टराईले बालीनाली लगाउने बेला मलको हाहाकार भइरहेको भन्दै मल ल्याउन भनि भारत गएका कृषिमन्त्री मल नपाएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका निम्तिएको बताए।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन्।
‘बालिनाली लगाउने बेला भइसकेको छ। मलको हाहाकार छ। हामीले सुनिरहेका छौं मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ। कहाँ पुग्नुभयो? उहाँको हालखबर के छ? मल आउँछ कि आउँदैन?,’ उनले प्रश्न गरे, ‘मल लिएर आउनुहुन्छ कि आउनुहुन्न? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ।’
उनले मल ल्याउन समस्या नभए पनि अहिलेको सरकारले भने मल ल्याउन नै नखोजेको आरोप लगाए। ‘यो सरकारले मल ल्याउन खोजेको छैन। मलमा माल खोजेको छ। माल नआउन्जेल मल आउनेवाला छैन। हामीले मल खोजेका हौं, मालको पछाडि लाग्न खोजेका होइनौं,’ उनले भने।
उनले बजेटमा राखिएको किसान पेन्सनको विषयमा पनि बजेटमा प्रष्ट नभएको भन्दै त्यसको स्पष्ट व्याख्या हुनुपर्ने बताए।
‘कृषि तथा पशुपन्छी मन्त्रालयको धेरै चर्चा भएको छ। किसान पेन्सनको अवधारणा अगाडि ल्याइएको छ,’ उनले भने, ‘कति वर्षसम्म कृषिमा गरेको मानिसले पेन्सन पाउने हो? स्पष्ट गरिएको छैन। किसानको वर्गीकरण र सूचीकृत गरिएको छैन। सबैले किसान लेख्छन्, कुन किसानका लागि पेन्सनको व्यवस्था गरेको हो त्यो स्पष्ट गरिएको छैन।’
उनले किसान पेन्सन ठिक हिसाबले कार्यान्वयन गर्नका लागि किसानको वर्गीकरण र सूचीकृत हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।