काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले नागरिकता विधेयक तुरुन्त पारित गर्न माग गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नगारिकता विधेयक तुरुन्त पारित गर्नुपर्ने बताए।
‘नागरिकताको नपाएको कारण तराईमा भयावह अवस्था भइरहेको छ’, उनले भने, ‘बालबच्चाहरू पढ्न पाएको छैन। जागिर खान पाएको छैन। तसर्थ, सरकारको तुरुन्त ध्यान जाओस् र नागरिकता विधेयक पारित गरोस्।’
नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो। सो विधेयक साउन २८ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो। २९ गते सामान्य छलफल भई २०७५ भदौ ५ गते राज्य व्यवस्था समितिमा पुगेको थियो।
अनेक छलफलपछि (दलहरुका आन्तरिक बैठकमा समेत) २०७७ असार ७ गते समितिले बहुमतबाट विधेयक प्रतिवेदन पारित भयो। र, ९ गते संसद्को पूर्ण बैठकमा प्रतिवेदन पेस भयो।
तर, त्यसलाई सदनबाट पारित गर्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको दोस्रो दिन अर्थात् २०७८ जेठ ९ गते नागरिकता अध्यादेश जारी गरे। त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।