काठमाडौं– नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले काठमाडौं दुर्गन्ध र फोहोरले आक्रान्त भएको र यसले काठमाडौंवासी चिन्तित भएको बताएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले ५० मिटर दुरीमा फोहोरको पहाड भइसकेको बताए। काठमाडौंका सडक हिँड्नै नसक्ने गरी दुर्गन्धित भइरहेको उनको भनाइ छ।
यस विषयमा तालुकदार मन्त्रालयका मन्त्रीको जवाफ चाहेको भन्दै उनले सभामुखमार्फत् रुलिङको माग गरे। 'यस विषयमा सरकारले के हेरिरहेको छ? सरकारको आधिकारिक धारणा के हो? फोहोर कहिले उठ्छ? तत्काल फोहोर उठ्छ कि उठ्दैन? सरकारको तालुकदार मन्त्रालयका मन्त्रीले जवाफका लागि सभामुखको रुलिङ चाहन्छु', उनले भने, 'फोहोर कहिले उठ्छ? कहिले समाधान हुन्छ? काठमाडौको अवस्था यस्तै रहने हो भने यहाँको जनता चुप लागेर बस्ने छैन। त्यसको परिणाम गम्भीर हुनेछ।'
उनले फोहोरको समस्या गम्भीर भइरहेको र फोहोर तत्काल उठ्नुपर्छ भन्दै बल प्रयोग गरेर समस्याको समाधान खोज्नुभन्दा समझदारीको बाटो खोज्नुपर्ने उनले बताए। 'अब धेरै दिन काठमाडौंवासीले सहन सक्नेछैन। फोहोर तत्काल उठ्नुपर्छ। व्यवस्थापन हुनुपर्छ।'
काठमाडौं दुर्गन्धित बन्दा अन्तर्राष्ट्रिय रुपमा बदनाम भएको पनि श्रेष्ठको भनाइ छ।
'कूटनीतिक नियोगले अहिले काठमाडौं सहर अत्यन्त दुर्गन्धित छ भन्दै सम्भावित संक्रमणबाट जोगिनका लागि अनावश्यक रुपमा सहर बजारमा ननिस्किन आन्तरिक सर्कुलर गरेको मैले बुझिरहेको छु। योभन्दा हाम्रालागि लज्जास्पद कुरा के हुनसक्छ। यो फोहोर तत्काल उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ,' श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।