काठमाडौं– स्थानीय तहको निर्वाचनमा बेहोर्नु परेको 'हार'को विषयलाई लिएर नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भइरहँदा महासचिव शंकर पोखरेल भने ओलीको प्रतिरक्षामा उत्रिएका छन्।
पार्टी नेतृत्व (अध्यक्ष) ओलीप्रति आग्रहपूर्ण व्यवहार राखिएको भन्दै त्यस्तो नगर्ने हो भने पार्टीको भविष्यप्रति चिन्ता गर्नुपर्ने अवस्था नरहेको पोखरेलको भनाइ छ।
नेता घनश्याम भूसाल लगायतले स्थानीय तहको निर्वाचनमा पार्टीले पराजय भोग्नुमा अध्यक्ष ओलीको कार्यशैली मुख्य जिम्मेवार रहेको बताउँदै आएका छन्। ओलीप्रति गरिने आलोचनालाई पोखरेलले 'आग्रहपूर्ण विचार' भनेका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पोखरेलले भनेका छन्, 'नेकपा(एमाले)को मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकताबद्ध बनाउने काममा इमान्दारितापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन।'
मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण एमाले भित्रैबाट सम्भव रहेको पोखरेलको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।