काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ।
असार २ र ३ गते पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागिएको एमाले कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।
स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो।
कार्यक्रममा सहभागी हुन असार २ गतेभित्रमा नै काठमाडौं आइसक्न उनीहरुलाई जानकारी गराइसकिएको छ। कार्यालय सचिव अधिकारीले पार्टी कार्यालय वा अन्य कुन ठाउँमा प्रशिक्षण दिने भन्ने स्थानको भने टुंगो लागिनसकेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन्। वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २०५ पालिका प्रमुख/अध्यक्ष र २४० पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।