काठमाडौं– प्रतिनिधि सभा बैठकमा बुधबार चार वटा मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बुधबार कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने छ।
जसका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ। मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल भएको थियो।
कानुन न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल भइसकेको छ।
मन्त्रालयगत छलफल सकिएपछि सम्बन्धित मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्। त्यसपछि बजेट पारितको प्रक्रिया अघि बढ्नेछ।
बुधबार राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय सूचना आयोग, आदिवसाी जनजाति आयोग र महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।