काठमाडौं– बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर भर्ने समय आज बुधबार सकिँदैछ।
जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको कम्पनीले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कूल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ।
सर्वसाधारणले बाँकी १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।