काठमाडौं– काठमाडौं महानगरपालिकको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन्। मंगलबार राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट उनीहरू निर्वाचित भएका हुन्।
नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएकी छन्। उनीहरूले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरेका थिए।
नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका शर्मिला परियारले ६१, शारदा सुवेदीले ६१, शोभा कार्कीले ६१, हीरादेवी पोखरेलले ६० र हेराशोभा डंगोलको ५९ मत प्राप्त गरे।
यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएका छन्। उहाँहरुले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गरेका छन्। यता प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव भुजेलले ६१, चन्द्रकला सुन्दासले ६१ र प्रेम पोडे पुजारीले ६२ मत प्राप्त गरे।
गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौं महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए।
प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी दिएकाले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।
निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ। यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य छन्। निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।