काठमाडौं- हुम्लाबाट निर्वाचित सांसद रंगमती शाहीले मन्त्री भएका जिल्लामा मात्रै बजेट खन्याइएको गुनासो गरेकी छन्। विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले हुम्लामा बजेटले कुनै कार्यक्रम नदिएको बताइन्।
शाहीले किसानलाई जरिवानाको व्यवस्था गर्ने सरकारले मन्त्री भएका जिल्लामा बजेट दिएर भेदभाव गरेको बताइन्। ‘कृषकलाई जमिन बाँझो राख्यो भने जरिवाना गर्ने र किसानले समयमा मलखाद नपाए जनताले के गर्ने?’ उनले भनिन्, ‘जहाँ जहाँ मन्त्री त्यहाँ बजेट। चुनाव जितेर आउनु होला।’
सांसद शाहीले आफू सत्तापक्ष भएकाले बजेट मागेर लेटर प्याड सकेको, तर बजेट भने शीर्ष नेताहरुको निर्वाचन क्षेत्रमा गएको आरोप लगाइन्। उनले कर्णालीलाई अहिले पनि उपेक्षा गरिएको बताइन्।
विगतमा प्रतिपक्ष हुदाँ आशा नगरेको, तर अहिले सत्तापक्ष हुदाँ पनि हुम्लालाई बजेट नपरेको उनको भनाइ छ। उनले फेरी पनि निर्वाचन जितेर आउन र मन्त्री हुन सरकारमा सहभागी नेतालाई व्यंग्यात्मक शुभकामना दिइन्।
कर्णालीमा ढुवानी नै महङ्गो भएकाले सरकारले विनियोजन गरेको बजेट अपुग हुने दाबी पनि गरिन्। हुम्ला पर्यटकीय क्षेत्र भए पनि बजेट डोटी हुँदै डडेलधुरा पुगेको बताइन्। डोटीमा निर्वाचित सांसद प्रेम आले पर्यटनमन्त्री छन् भने डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।