काठमाडौं– नेकपा एमालेका सांसद भीम रावलले कार्यपालिकाले निर्णय गरेर अर्बौं रकम खर्चिएको आयोजना रोक्ने फैसला गरेर न्यायपालिकाले देशलाई हानी पुर्याउन नमिल्ने टिप्पणी गरेका छन्।
प्रतिनिधि सभामा मंगलबारको बैठकमा बोल्दै नेता रावलले निजगढमा विमानस्थल बनाउन हुँदैन भन्नेहरू नै अहिले भू–माफियासँग मिलेर सरकारले अधिग्रहण गरेको जमिन अतिक्रमण गर्न लागिपरेको बताए।
‘१ सय १० बिघा अधिग्रहण गर्नुपर्नेमा ७६ बिघा अधिग्रहण भइसकेको छ। प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। द्रुतमार्गमा २ खर्बभन्दा बढी खर्च भइसकेको छ,’ उनले भने, ‘अहिले त्यहाँ रुखको हवाला दिन्छन्। त्यहाँ अहिले जसले विमानस्थल बनाउनु हुँदैन भनेका छन् तिनीहरू भू–माफियासँग मिलेर प्रत्येक वर्ष जग्गा अतिक्रमण गरिरहेका छन्।’
उनले यसरी अतिक्रमण गर्नेको संख्या ठूलो भएको पनि बताए। नेपाल सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण भइरहेको उनको भनाइ छ।
उनले भने, ‘यदि त्यहाँ तत्काल विमानस्थल निर्माणको काम थालनी नगर्ने हो भने, त्यो बाँकी जग्गा पनि कब्जा हुनेछ।’
उनले सरकारको यति ठूलो लगानी खेर जाने भन्दै प्रश्न गरे। निजगढ विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएसँगै उक्त फैसलाप्रति राजनीनिक दलका नेता र सांसदहरूले विरोध जनाइरहेका छन्।
सरकारले आगामी आर्थिक वषएको बजेटमा पनि निजगढ विमानस्थल निर्माणका लागि भन्दै बजेट विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।