काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाएकोमा प्रश्न उठाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले महाअभियोग अघि नबढाएकोमा प्रश्न उठाएका हुन्। एमाले प्रमुख सचेतक विशाल भट्टराईले महाअभियोग सम्बन्धी प्रक्रिया के हुँदैछ भनेर आफूहरुले जिज्ञासा राखेको जानकारी दिए।
एमालेले प्रक्रियागत हिसाबले महाअभियोग सम्बन्धी प्रस्तावलाई अघि बढाउन माग गरेको छ। समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाउन माग गरे।
२०७८ फागुन १ गते सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोग प्रस्ताव दर्तापछि राणा निलम्बनमा छन्।
प्रस्ताव दर्ता भएको दुई सातामा प्रतिनिधिसभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो। तर, समितिको बैठक अहिलेसम्म एक पटक मात्रै बसेको छ।
समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरूङ सुवेदी, रामबहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडल र शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।