काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन्।
संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक अजेण्डा भएको बताए।
उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताएका हुन्। उनले भने, ‘कुनैपनि चिज कमिटीमा छलफल हुन्छ। यदि कुनै विषय हो भने कमिटीमा आउँछ। छलफल हुन्छ। कमिटीले निर्णय गर्छ।’
त्यस्तै, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरुलाई समीक्षा गरेर एकतावद्ध हुनुपर्ने बताए। पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाइ छ।
कोहीपनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए। ‘यतिबेला नेकपा(एमाले) एकतावद्ध भएर अगाडि जानुपर्छ। नेकपा(एमाले)मा भएका कमी, कमजोरीहरु जे–जे छन् त्यसलाई हामीले आत्मसमीक्षा गरेर, ठन्डा दिमागले समीक्षा गरेर अगाडि बढ्नुपर्छ। र, पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ’, रावलले भने।
उनले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टीपंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरुलाई सहयोग गरेको ठहरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।