काठमाडौं– बाँके, बर्दिया, अछामलगायत देशका विभिन्न भागमा भएका घटनामा गृहमन्त्री बालकृष्ण खाणले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरूले आपत्ति प्रकट गरेका छन्।
गृहमन्त्रीको जवाफपछि सांसद गंगा चौधरी सत्गौवाले प्रश्न गरिन्, ‘थारु गाउँमा सरकारको लाठीभन्दा बढी गोली किन चल्छ? के थारुहरू अपराधी हुन्?’
यस्तै, सांसद खगराज अधिकारीले गोली चलाउने आदेश नदिएरै गोली चलाइएको छ भन्ने गृहमन्त्रीको जवाफप्रति आपत्ति जनाउँदै जवाफ चित्तबुझ्दो नआएको बताए।
उनले भने, ‘त्यो व्यक्ति त थाहा होला नि । के निलम्बन गरिएको छ?’ उनले प्रश्न गरे। सांसद भीम रावलले केही दिनअघि अछाममा भएको एक युवक हत्या घटनामा पीडितको जाहेरीसमेत दर्ता नगरिएको भन्दै आपत्ति जनाए।
यस्तै, बिमला विकले गृहमन्त्री, प्रजिअलगायतको आदेश नभएरै गोली चलाउने प्रहरीमाथि तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिन्।
सांसद सूर्य पाठकले कांग्रेस नेतृत्वको सरकार हुँदा गोलीकाण्ड धेरै हुने भन्दै विभागीय मन्त्रीको हैसियतले जिम्मेवारी लिनुपर्ने बताए।
सांसद यज्ञबहादुर बोगटीले अछाम घटनामा संलग्नलाई निलम्बन गर्न माग गरेका छन्। यसैगरी सांसद लालबहादुर थापाले बूढीगंगा नगरपालिका २, ३, ५ र ९ मा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको बेला प्रहरी फिर्ता बोलाउने निर्देशन दिनेलाई कारबाही गर्न माग गरे।
सांसद शेरबहादुर तामाङले गोली चलेको विषयमा सरकारको नैतिक जिम्मेवारीको विषय भएको भन्दै वन्यजन्तुको संरक्षण गर्ने नाममा मानिस मार्न नपाइने बताए।
सांसद गगन थापाले घटनामा संलग्न जो कोही भए पनि कारबाही हुनुपर्ने भन्दै राजनीतिक प्रतिशोध साध्नका लागि काम गर्न नहुने उल्लेख गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए। ‘गल्ती गरेकोले सजाय पाओस्। निर्दोष फस्ने काम नहोस्,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।