बैतडी– जिल्ला समन्वय समिति बैतडीको प्रमुखमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका छन्। मंगलबार बिहान सम्पन्न निर्वाचनमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ८ मत प्राप्त गरे।
यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भएका छन्। उनले १० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी)ले ८ मत प्राप्त गरिन्।
जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियो। एमाले एक्लै चुनाव लडेका थियो।
समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भएका छन्।
यस्तै, तीन महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द र हरु नेपाली तथा माओवादी केन्द्रका निर्मला भट्ट विजयी भए। एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार हरना सार्की विजयी भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई मंगलबारै बिहान ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।