जुम्ला– जिल्ला समन्वय समिति जुम्लाको निर्वाचन यही जेठ २९ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले २९ गतेका लागि निर्वाचन तय भएको बताए।
नेपाली कांग्रेसले जिसस जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका–१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ।
कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए। जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र एक उपप्रमुखसहित दुई उपाध्यक्ष जितेको छ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा अध्यक्ष र तीन उपाध्यक्ष जितेको छ। नेकपा ( एकीकृत समाजवादी ) ले एक उपाध्यक्ष जितेको छ।
चन्दननाथ नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। मतदाताका हिसाबले जुम्ला जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्काजस्तै छ।
२०७४ को स्थानीय तह निर्वाचनमा जुम्लामा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र कांग्रेस उपप्रमुखको नेतृत्व गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।