काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ।
संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा आज (सोमबार) भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ बर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताए। सापकोटाले शिक्षा, उर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे।
सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताए। ‘राजनीतिक, भाषिक, सांस्कृतिक हिसाबले छिमेकीसँग राम्रो सम्बन्ध राख्न सफल डेनमार्कका सकारात्मक कुराहरु हामी सिक्न चाहन्छौं,’ उनले भने।
नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नु पर्नेमा जोड दिए। उनले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सककार्यको सम्भावना औंल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गरे।
भेटमा प्रतिनिधिमण्डलका प्रमुख ‘डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी’ (डीआईपीडी) की कार्यकारी निर्देशक लिस्बेथ पिलगार्डले आफ्नो टिमसँग छलफलको समयका लागि आभार व्यक्त गरिन्। उनले डेनमार्कको संसदको संस्था डीपीआईडीले लोकतन्त्र र राजनीतिक दलहरुसँग सहकार्य गर्दै आएको बताइन्।
डीआईपीडी नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न चाहेको बताउँदै पिलगार्डले जलवायु परिवर्तनको विषयमा सहकार्यका लागि छलफल गर्ने जानकारी दिइन्। समुन्द्रले घेरिएको देश डेनमार्कका नागरिक हिमालले घेरिएको नेपाल घुम्ने चाहना राख्ने गरेको उनको भनाइ थियो ।
प्रतिनिधिमण्डमा सहभागि डेनमार्कको सोसल लिबरल पार्टीकी नेतृ क्लारा हाल्भोर्सेनले डेनमार्क नेपालका युवाहरुसँग काम गर्न इच्छुक रहेको बताइन्। प्रतिनिधिमण्डलमा डीआईपीडीका कार्यकारी निर्देशक लिस्बेथ पिलगार्ड, सोसल लिबरल पार्टीकी नेतृ क्लारा हाल्भोर्सेन डीआईपीडीका सहयोग र विकास प्रमुख माथियास पार्सबेक स्किब्डल र नेपाल प्रनिनिधि श्रृष्टि राणा सहभागी थिए। भेटअघि प्रतिनिधि मण्डलले संघीय संसद भवनमा सभा सञ्चालनको अवलोकन समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।