काठमाडौं– नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्रीमण्डलमा हेरफेर गर्ने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अरुचि देखाएका छन्।
बजेट अधिवेशन चलिरहेको बताउँदै तत्काल मन्त्रीमण्डल हेरफेर गर्न प्रधानमन्त्री देउवाले अरुचि देखाएपछि एकीकृत समाजवादीको निर्णय अलपत्र परेको छ।
एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकाहरुले पनि संसद्मा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने र 'पाइपलाइन'मा भएका केही काम गरेर मात्रै फिर्ता हुने मनसाय व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवालाई भेटेर उनीहरुले यस्तो मनसाय व्यक्त गरेको एक मन्त्रीले जानकारी दिए।
ती मन्त्रीका अनुसार देउवा पनि एकीकृत समाजवादीको निर्णयबाट सन्तुस्ट छैनन्। छापामार शैलीमा आफूहरुलाई हटाउने निर्णय भएको भन्दै उनीहरुले निर्णय सच्याउन माग गरेका छन्।
उनीहरुले निर्णय प्रक्रियामा समेत विरोध जनाएका छन्। एकीकृत समाजवादीबाट सरकारमा रहेका एक मन्त्री भन्छन्, 'हामीलाई सचिवालय बैठकमा बोलाइयो, तर त्यहाँ निर्णय भनिएन। छापामार शैलीमा हटाइयो।'
आफूहरुलाई फिर्ता बोलाउनुअघि संकेत होइन, जानकारी नै दिनुपर्ने माग मन्त्रीहरुले अध्यक्ष माधव नेपालसँग गत चैतमा गरेको बताए। उनले भने, 'त्योबेला पनि केही साथीहरुले ६ महिना पुगे वा नपुगेको कुरा उठाउनुभयो। त्यसपछि हामीले फिर्ता हुनुपर्दा प्रक्रियाअनुसार नै हुने बताएका थियौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।