काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले विभिन्न घटनाका पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन अलग्गै कानुनको आवश्यकता देखिएको बताएका छन्। एसिड आक्रमण लगायत विभिन्न अपराधिक घटनाका पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन अलग्गै कानुन आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री कोइरालाले यस्तो बताएका छन्। एसिड आक्रमण जस्ता घटनामा आजीवन कारावास र क्षतिपूर्तिको सुझावहरु आएको भन्दै उनले क्षतिपूर्ति कानुन निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताए।
केही गम्भीर अपराधमा सजाय बढाउनुपर्ने आवश्यकता रहेको पनि मन्त्री कोइरालाको भनाइ छ।
प्रतिनिधि सभामा फौजदारी कसुर एवं सजाय निर्धारण सम्वन्धी कार्यविधी संशोधन गर्न पेस भएको अध्यादेशको प्रतिस्थापन विधेयकको छलफलमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै उनले एसिड आक्रमणजस्ता घटनाहरु गम्भीर भएकाले अपराध अनुसारको सजाय गर्नुपर्ने बताए।
प्रतिनिधि सभामा उक्त विधेयकको विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। सांसदहरुले सैद्धान्तिक छलफलमा भाग लिँदै एसिड आक्रमण जघन्य अपराध भएकाले यसमा कडा भन्दा कडा सजाय गर्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।