काठमाडौं– सांसद मिन बहादुर विश्वकर्माले यौनहिंसामा हदम्याद सम्पूर्ण रुपमा हटाउने कुरामा थप बहस जरुरी हुने बताएका छन्। सबै उमेर र समूहका लागि हदम्याद हटाउँदा किर्ते मुद्दाका चाङ लाग्न सक्नेतर्फ उनले संकेत गरेका छन्।
उनले भने, 'नाबालिग, वृद्ध र अशक्तका हकमा तुरुन्तै पीडा व्यक्त हुन सक्दैन। उसले भन्न सक्दैन। विशेष व्यवस्था गर्न सकिन्छ। सक्षम र शिक्षित नागरिकका लागि भने गर्नुहुँदैन। सहरिया र धनाढ्यका बीचमा यो कानुन ल्याइयो भने दुरुपयोग हुन्छ। विशेष वर्ग र जातिलाई लक्षित गरेर ल्याइएका अधिकांश नीतिको दुरुपयोग हुन्छ।'
जति सक्यो, त्यति ढिलो उजुरी गर्दा न्याय पाइने मान्यता नै आफूले बुझ्न नसकेको उनले बताए। प्रमाण नगुम्ने किसिमले के हुन सक्छ, त्यसअनुसार कानुन बनाउनुपर्ने बताउँदै विश्वकर्माले आवेगमा र लहडमा कानुन नल्याउन आग्रह गरे।
'प्रमाण भेटिने आधार हदम्याद राख्दा हुन्छ कि नराख्दा हुन्छ? हदम्याद नराख्दा प्रमाण भेटिन्छ कि मेटिन्छ?' उनले थपे, 'कानुनको कुरा गर्दा जति चाँडो उजुरी गरियो त्यति प्रमाण भेट्न सहज हुन्छ।। यौन हिंसामा जति छिटो उजुरी गर्यो, त्यति प्रमाण भेटिन्छ। जतिसक्यो ढिलो उजुरी गरियो त्यति न्याय पाइन्छ भन्ने मान्यता केका आधारमा बन्यो? म कानुनको विद्यार्थी हुँ, तर बुझ्न सकेको छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।