काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले यौनहिंसा पीडितलाई धम्क्याउने र प्रलोभन देखाउनेलाई दुई वर्ष कैद हुनुपर्ने बताएका छन्। यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै यस्तो बताएका हुन्।
कानुन संशोधनले थप प्रगतिशील बनाउने बताउँदै प्रलोभन र धम्क्याउने कार्यमा स्थानीय तहका जनप्रतिनिधि समेत संलग्न भएको समेत देखिएको सजाय बढाउनुपर्ने उनको भनाइ छ।
उनले भने, 'प्रलोभन र धम्क्याउनेलाई कैद दुईवर्ष बनाउनुपर्छ। कतिपय जनप्रतिनिधि नै पीडितलाई धम्क्याउने काममा संलग्न भएका उदाहरण हामीले देखेका छौं।'
उनले बलात्कारको लैंगिक तटस्थताका साथै हदम्यादको व्यवस्था थप्नुपर्ने उनले बताए। उनले थपे, 'उजुरी दिने हदम्याद संशोधन गर्न आवश्यक छ। त्यो समय पीडित ट्रमाटाइज भएको हुन्छ। त्यसैले हदम्याद बढाउनुपर्छ। त्यो संसदमा ल्याइयोस्। पारित गरौं।'
आफूले केही समयअघि शिक्षकले दुर्व्यबहार गरेको काठमाडौंको एक घटनालाई नजिकबाट नियाल्दा यौनहिंसालाई सामान्य रुपमा लिँदा र उजुरी वा गुनासो गर्ने ठाउँ नपाउँदा जघन्य अपराधसम्म पुगेको बताए।
उनले भने, 'उक्त घटना घटेको स्कुलमै पढेका एकजना मसँगै हिँड्थे। उनी त्यहीँका पूर्वविद्यार्थी थिए। उनले भने- ७ वर्षअघि पनि उनका विषयमा यस्तै गुनासो थियो र चर्चाको विषय हो। यो त सामान्य जस्तै छ।'
यसरी सामान्य रुपमा स्वीकार गर्ने कुराले त्यहाँ पुर्याएको उनले बताए। उनले कानुनमा कडाइ गर्नुका साथै स्थानीय सरकारलाई समेत यस विषयमा सचेतना फैलाउन उपयोग गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।