टीकापुर– कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा शिक्षा र स्वास्थ्य परेका छन्। भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन्।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँछन्। 'यहाँका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि टीकापुर या लम्की जानुपर्ने बाध्यता छ। यही किन वातावरण भएन भन्ने प्रश्न उठेको छ', उनी भन्छन्, 'अब मैले कम्तीमा यही पढ्ने वातावरण बनाउन के गर्ने भन्नेबारे छलफल गर्दैछु।'
अध्यक्ष चौधरी हरेक क्षेत्र सुधारका लागि समयको महत्त्व आवश्यक रहेको जनाउँदै आफूले हरेक काम समयमै गर्न थालेका बताउँछन्।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु प्राविधिक शिक्षामा जोड दिने बताउँछन्। 'यहाँ रहेका प्राविधिक विषय अध्ययन हुने विद्यालयमा थप लगानी गर्न पालिका तयार छ। सही शिक्षा नपाएमा बालबालिकाको भविष्य बर्बाद हुने भएकाले शिक्षामा कुनै खालको कञ्जुस्याईँ गर्दैनौँ', उनभने भने, 'स्वास्थ्यका क्षेत्रमा समेत थप लगानी गर्ने तयारी छ। हरेक वडामा स्वास्थ्य संस्था छन्। ती संस्थामा सबै सुविधा पाउने गरी नीतिगतरुपमै काम गर्ने तयारी छ।'
भजनीका नगर प्रमुख केवल चौधरी पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा रहने बताउँछन्। 'भजनी बजार कैलालीको पुरानो बजार हो तर यसको विकास हुन सकेको छैन, भजनीको विकासका लागि शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन आवश्यक छ', उनी भन्छन्, ‘शिक्षा आर्जन गर्न बालबालिका टाढा जानुपर्ने, स्वास्थ्य सेवा लिन रातारात अन्य पालिका वा अन्य जिल्ला दौडनुपर्ने अवस्था अन्त्यका लागि पहल गर्छु। भजनी प्राथमिक स्वास्थ्य केन्द्रको विकास गर्ने योजना छ।'
उनी भजनीका जनता निकै दुःखमा रहेको जनाउँदै विशेषज्ञ डाक्टर नभएका कारण भजनीबासी अकालमा ज्यान गुमाउन बाध्य भएकाले यी कार्य प्राथमिकता दिएर काम गर्ने बताउँछन्। जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी पनि शिक्षा स्वास्थ्य पहिला प्राथमिकतामा राखेको बताउँछन्।
'जोशीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुविधासम्पन्न र जनशक्ति व्यवस्थापन प्राथमिकतामा राखेर काम गर्छु', उनले भने, 'स्वास्थ्य सेवा लिन जाँदा मानिस भौतारिन नपरोस्। बिरामी अवस्थामा पनि सेवा लिनका लागि भौतारिनुभन्दा पीडा के होला ?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।