काठमाडौं– सोमबार प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद्को ११औं अधिवेशन अन्तर्गत १६औं बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले 'यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले 'फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
संसद्का महासचिव भरतराज गौतमका अनुसार विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ।
विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, युवा तथा खेलकुद, श्रम, वन, सहरी विकास, भूमि र महिला तथा बालबालिका गरी ६ वटा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने महासचिव गौतमले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।