काठमाडौं– स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा गठबन्धनकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई जवाफ फर्काएकी छन्।
नेता पौडेलले नेपाली कांग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवार बनाएकाले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो बजाएको टिप्पणी गरेका थिए।
सिंहले पौडेलको उक्त टिप्पणीको जवाफ फर्काएकी हुन्। सिंहले पौडेललाई विगतमा जेल बस्दा आफूले गरेको सहयोग स्मरण गराएकी छन्। ‘मेरो राजनीतिक यात्रामा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नु भएको, थाहा पाउनु भएको, हामी छिमेकी जिल्लावासी पनि हुनुहुन्छ। मेरो बिहेअघि तपाई गोरखामा जेल पर्नुहुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाई?’, उनले ट्विटरमा जवाफ लेख्दै भनेकी छन्।
उनले पार्टीभित्र वंशवादको कुरा वरिष्ठ नेताबाटै आउँदा नसुहाएको टिप्पणी गरेकी छन्। उनले अघि भनेकी छन्, ‘यो कुरा तपाईंको मुखबाट आउँदा अलि सुहाएन कि दाई।’
काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको पौडेलले बताएका थिए। वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दलले हार बेहोरेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।