काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाका बीचमा भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच भेट भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।
आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन र सार्वजनिक लेखा समितिको नेतृत्वकाका विषयमा छलफल भएको छ।
राज्य व्यवस्था समितिकी सभापति रहेकी शशि श्रेष्ठ मन्त्री भएपछि उक्त पद रिक्त रहँदै आएको छ। त्यस्तै संसद्को लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरत साह रहेका छन्।
लेखा समितिको नेतृत्व प्रतिपक्ष दलले लिने परम्परा रहेको भए पनि यसपटक सत्ता पक्षले नै लिएको छ। त्यसैगरी नागरिकता, निजामती कर्मचारी र सत्य निरुपयोग तथा मेलमिलाप आयोगलगायत विचाराधीन विधेयकहरूका विषयमा पनि छलफल भएको छ।
त्यस्तै उपसभामुख पनि रिक्त रहेको छ। सभामुख सापाकोटाले उपसभामुख निर्वाचनका विषयमा पनि प्रधानमन्त्रीसँग चासो राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।