काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया रहेको बताएका छन्। आफ्नो पार्टीबाट मन्त्री परिषद्मा रहेका पाँचजनाको जिम्मेवारी हेरफेर गर्ने सूची बुझाएपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय बानेश्वरबाट बाहिरिँदै गर्दा उनले सुरुमै ६ महिनाका लागि भनेर मन्त्रीहरुलाई जिम्मेवारी दिइएको बताए।
उनले भने, ‘यो नियमित प्रक्रिया हो। सुरुदेखि नै ६ महिना भनेर उहाँहरुलाई जिम्मेवारी दिइएको हो।’
आइतबार दिउँसो बसेको एकीकृत समाजवादीको बैठकले चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। फिर्ता हुनेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटन, संस्कृत तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ रहेका छन्।
उनीहरुको ठाउँमा मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिरा केसीलाई पठाइएको हो। यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ मन्त्रीमा बढुवा हुने भएका छन्। स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसी नियुक्त गर्न सिफारिस भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।