काठमाडौं- नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता गराउने निर्णय गरसँगै केही मन्त्रीहरुको यात्रा टुङ्गिएको छ। पार्टीले कानुनमन्त्री रहेका गोविन्द शर्मा बन्दीबाहेक अन्यलाई फिर्ता बोलाउने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले बताए।
आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीले सरकारमा पठाएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। यससँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ फिर्ता हुने भएका छन्।
सचिवालय बैठकले निर्णय गर्ने अधिकार भने अध्यक्ष माधव नेपाललाई दिएको थियो। पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधी नाघेको भन्दै बैठकमा समीक्षा हुँदा वहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको थियो।
मन्त्रीहरु फिर्ता भएपछि उनीहरुका ठाउँमा ५ जना नयाँ नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरिएको छ। नयाँ मन्त्रीको सूचीमा मेटमणी चौधरी शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्यन, शेरबहादुर कुँवर श्रम तथा सामाजिक सुरक्षा र हिरा केसी स्वास्थ्य राज्यमन्त्री रहेका छन्। स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङको बढुवा गरिएको छ। उनी सुरुदेखि नै राज्यमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।