काठमाडौं– नेकपा एकीकृत समाजवादीले प्राकृतिक विपद्को पूर्व तयारीमा देशभरका कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ।
आइतबार बिहान बसेको सचिवालय बैठकले मनसुन सुरु भइसकेको र त्यसबाट हुने विपद्लाई ध्यानमा राखेर पूर्व तयारीमा सातवटै प्रदेश, ७५३ स्थानीय तहमा रहेका कमिटी र कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
‘यसवर्ष पनि मनसुनी विपद् हुनसक्ने देखिन्छ। मौसविद्हरूले औषधभन्दा बढी वर्षा हुन्छ भनिरहेको अवस्था छ,’ उनले भने, ‘त्यसका लागि हामीले पार्टीका केन्द्रीय नेताहरूदेखि संगठित सदस्यसमेत गरेर सबै तहका कमिटीलाई पूर्व तयारीमा खटाउँछौं।’
उनले विपद्का घटना निम्ति सकेपछि आवश्यक उद्दार, राहत तथा पुनःस्थापनाको काममा पनि पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु परिचालन हुने जानकारी दिए।
उनले सरकारमा आफ्नो पार्टीले पाएको मन्त्रालयमा मन्त्री हेरफेरको विषय पहिले उठे पनि अहिले निर्णय भइनसकेको बताए।
‘अहिले पठाएका मन्त्रीहरूलाई पनि हामीले ६ महिना भनेर पठाएका थियौं। ६ महिनाभन्दा बढि भइसक्यो। उहाँहरूको कामको समीक्षा हुन्छ,’ उनले भने, ‘शीर्ष नेताहरूको बीचमा समझदारी भएपछि मात्रै निर्णय होला अहिले त्यो बारेमा कुनै निर्णय भएको छैन।’
उनले अहिले वाम गठबन्धन एकतालगायतका विषयमा चर्चा भए पनि तत्कालै गठबन्धन बन्ने सम्भावना भने नदेखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।