दाङ– दाङको कुहिरेपानीदेखि घोराही जोड्ने सडकमा पर्ने सिस्ने खोलामा समयभन्दा पाँच महिना अगाडि पुल सम्पन्न भएको छ।
कुहिरेपानी–सर्रा जोड्ने पुल नभएका कारण यात्रुलाई समस्या हुने गरेको थियो। सिस्ने खोलामा बर्सेनि आउने बाढीले धेरै दुःख भोग्नु परेको थियो।
लम्बाइ ९० मिटर र चौडाइ ९ दशमलव ६० मिटरका दुईवटा पुल रहेका छन्। आउने र जाने (छुट्टाछुट्टै) यात्रा गर्न मिल्ने पुल दाङमा यो नै पहिलो हो।
लुम्बिनी प्रदेश सरकारको १९ करोडको बजेटमा पुल बनेको इटाइट कन्ट्याक्ट कम्पनीका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए।
दुई वर्ष ६ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो। पाँच महिनाअगाडि नै ९९ प्रतिशत काम सम्पन्न गरेको उनले बताए।
खोलामा पुल निर्माण भएसँगै घोराहीवासीलाई यात्रा गर्न सहज भएको छ। यो पुल निर्माणबाट साबिकको सौडियार गाविस साविकको लक्ष्मीपुर गाविस र साबिक घोराही नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन्।
सो सडक पार गर्न करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो। तर, पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको स्थानीयवासी डोरबहादुर केसीले जानकारी दिए।
वर्षातको समयमा ठूलो बाढी आउने भएकाले यात्रा गर्न कठिन थियो। घोराही बजार जानलाई दुई घण्टा लाग्थ्यो अब १० मिनेटमा पुगिन्छ।
यसैबीच घोराही बजारको गाडीको चापलाई कम गर्न कुहिरेपानीदेखि सर्रासम्म वैकल्पिक सडकका रुपमा निर्माण हुन लागेको चारलेनको दामोदर सडकमा पर्ने सिस्ने र कुटुवा खोलाको दोभानमा निमार्ण भएको सिस्ने खोला पुल बनेपछि स्थानीयवासी खुसी भएका छन्।
२०७७ साल वैशाखमा सम्झौता भएको पुल २०७९ साल कात्तिक महिनामा काम सक्ने सम्झौता भएको इन्जिनियर बाबुराम भुसालले जानकारी दिए। अहिले ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ। हस्तान्तरण गर्न मात्रै बाँकी रहेको उनले बताए।
पुलको तल्लो र माथिको भागको काम सबै सकिएकोे उनले बताए। पुल निर्माण भएसँगै त्यहाँका स्थानीयवासीसँगै सडक वारपार गर्ने सबैलाई सहज हुने देखिएको छ ।
–––
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।