काठमाडौं– गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्।
चुनावपछि सत्ता सहयात्री दल कांग्रेसप्रति तीतो पोखिरहेका प्रचण्डलाई ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भेट भएको हो। भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ।
केही दिनअघि मात्रै प्रचण्डले कांग्रेसमा अहंकार बढेको बताउँदै ‘एमालेलाई जस्तै ठेगान’ लगाउने चेतावनी दिएका थिए।
प्रचण्ड र खाणको भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको बताइएको छ।
यसैगरी समसामयिक राजनीतिका साथै संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको छ।
गृहमन्त्री खाणलाई महत्वपूर्ण राजनीतिक विकासक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘दूत’का रूपमासमेत अघि सार्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।