काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए।
दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारेमा छलफल केन्द्रित हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।
उनले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र त्यसमा आगामी संघ तथा प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताए।
झाले भने, ‘आगामी अर्को निर्वाचनमा पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको। त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो। तर, प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनु भएकाले आज बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै।’
यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ । विजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीका बारेमा विस्तृत छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य झाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।