रुकुमपूर्व– रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ। जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ।
जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरूको पठनपाठन प्रभावित बन्न पुगेको हो।
रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन्। जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताब मात्र पूर्ण रूपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए।
रुकुमकोट आएका यी सबै किताब अर्को सातासम्ममा सबै विद्यालयमा पठाइसक्ने पाठ्यक्रम खरिद डिलरले जानकारी गराएको उनले बताए।। कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ।
रुकुमपूर्वमा विद्यार्थी सङ्ख्या २० हजारको हारहारीमा छ। तर, किताब भने न्यून मात्रामा आएको छ। आएको किताब पनि अपुरो आएको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख मंगलसिंह बुढाले बताए।
अहिले कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक नै परिवर्तन भएर आएको छ। नयाँ किताब गाउँपालिकाको कुनै पनि विद्यालयमा नपुगेको उनले जानकारी दिए। विद्यालयमा अहिले पुराना किताबबाटै पठनपाठन सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख बुढाले बताए।
यस्तै भूमे गाउँपालिकामा पनि पुरानै किताबाट पठनपाठन भइरहेको शिक्षा शाखा प्राविधिक सहायक टेकबहादुर बुढाले बताए। कक्षा ४, ७ र ९ को भने पाठ्यपुस्तक नै परिवर्तन भएका कारण पठनपाठन हुन नसकेको उनले बताए।
विद्यार्थीहरू भने विद्यालयमा आइरहेका छन्। पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि केहि विद्यालयमा पुरानै किताबबाट पठनपाठन सञ्चालन भइरहेको छ भने कतिपय विद्यालयमा किताब नआएको भन्दै शिक्षक नै घरबिदामा बसेको गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।