काठमाडौं– सत्ता गठबन्धनको दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पेट्रोलिय पदार्थको विकल्पमा लगानी गर्न सरकारसँग माग गरेकी छन्। संसद्मा दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्।
‘म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, महङ्गी घटाउने कार्यमा सरकारले कदम चाल्नै पर्छ,’ उनले भनिन्, ‘पेट्रोलिय पदार्थमा १० रुपैयाँ घटाउने सरकारको निर्णयलाई धन्यवाद।’
रुस र युक्रेनको युद्धका कारण विश्वस्तरमा मूल्यवृद्धि भएपछि निम्नवर्गका मानिसहरु मारमा परेको भन्दै उनले आयात गर्नुपर्ने यस्ता बस्तुको नेपालमै उत्पादन गर्ने योजना ल्याउन माग गरिन्।
उनले उर्जा उत्पादनमा जोड दिएर पेट्रोलिय पदार्थको खपत घटाउने योजना ल्याउन माग गरिन्। उनले नेपाल उर्जामा आत्मनिर्भर नहुने हो भने यस्तो समस्या आइरहने बताइन्।
नेपाली कांग्रेसकी अर्की सांसद डिला संग्रौलाले पनि महङ्गीले जनता मारमा परेकाले उनीहरुलाई राहत दिने कार्य सरकारले गर्नुपर्ने बताइन्।
अन्तर्राष्ट्रिय बजारमा उर्जा र खाद्यान्नको संकट परेको भन्दै उनले युक्रेनबाट आउने बस्तुको मूल्यले नेपालमा प्रभाव परेको भन्दै कसरी कम गर्ने भन्नेतिर ध्यान जानुपर्ने बताइन्। उनले वैकल्पिक उर्जामा सरकारले ध्यान दिनुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।