बागलुङ– कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ। प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो।
पाँचवटै ट्र्याक्टर र सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले बताए। बुधबार प्रहरीले कालीगण्डकी किनारबाट ध१त ४१७ र लु४त ८३६३ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको हो। 'अदालतले नदीजन्य पदार्थको उत्खनन रोकेको छ, सोहीअनुसार सहयोग गर्न प्रहरीलाई भनेका छौँ,' बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भने।
प्रहरीले बुधबार ध१त ३५५, ध१त २३७ र ध१त ४५८ नंको ट्र्याक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको छ। ट्र्याक्टर चालकबाट पहिलोपटक ५ हजार, दोस्रो पटक १० हजार र तेस्रोपटकमा २० हजार जरिवाना असुल्ने कानुनी व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।