काठमाडौं– दुई दिनदेखि काभ्रेको धुलिखेमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक सकिएको छ।
बैठकमा राप्रपाले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने कुरा औंल्याएको छ। अभिभावक संस्थाका रुपपमा राजा रहने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय प्रणाली हुनुपर्ने बैठकले औंल्याएको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै राप्रपाले, उसकै शब्दमा, मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गरेकाे छ।
साथै पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने ठहर राप्रपाले गरेको छ।
बैठकले तीन तहको संघीयता नभई केन्द्र र स्थानीय तह बलियो बनाउँदै प्रदेश सरकार खारेजीको माग गरेको छ। आगामी निर्वाचनमा यी मागलाई जोडदारका साथ उठाइने राप्रपाले बताएको छ।
यस्तै आगामी प्रदेश र संघीय निर्वाचनमा पार्टीभित्र र बाहिरबाट लोकप्रिय उम्मेदवार उठाइने र बाहिरका व्यक्तिलाई उम्मेदवार बन्नका लागि आह्वान गर्ने निर्णय पनि गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।