बाँके– बाँकेको नरैनापुर गाउँपालिकामा फरक भूमिका रहेका ३५ वर्षीय अजयकुमार मिश्राको परिचय अहिले फेरिएको छ। कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका उनी अहिले जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उक्त गाउँपालिका–३ को वडाध्यक्ष निर्वाचित भएका छन्।
मिश्राले गाउँपालिकामा नेकपा एमालेका ताजमोहम्द खाँ र नेपाली कांग्रेसका राजकुमार मौर्यलाई हराएर ६५४ मत ल्याएका थिए। उक्त गाउँपालिकामा कार्यालय सहयोगीको रूपमा कार्यरत मिश्रा यसपटकको स्थानीय चुनावमा जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि गाउँ टोलका समस्या समाधान गर्न व्यस्त छन्।
‘मैले दमकलमा काम गर्दा जनताको समस्या भित्रबाट बुझ्ने अवसर पाएँ, त्यसपछि मलाई जनप्रतिनिधिको रूपमा काम गर्ने चाहना पलायो’, उनले भने। कोरोनाकालमा जनतालाई आपत पर्दा होस् वा बाढीपीडित हुँदा गरेको कामबाट प्रभावित भएर जनताले आफूलाई वडाध्यक्षमा निर्वाचित गरेको मिश्राको भनाइ छ।
‘गरिब भए पनि कसैलाई केही प¥र्यो भने मबाट हुने सबै काम हुन्छ’, उनी भन्छन्। आफू कार्यालय सहयोगी हुँदा र अहिले जनप्रतिनिधि हुँदा कुनै अन्तर नभएको उल्लेख गर्दै जसरी पनि जनताको सेवा गर्ने कुरा मुख्य रहेको मिश्रा बताउँछन्। प्लस टूसम्म अध्ययन गरेका उनका दुई छोराछोरी र श्रीमतीका साथै परिवारमा आमा–बा, दाईभाउजु छन्।
‘हामीले अझै कार्यपालिकाको चुनाव सकेका छैनौं त्यसैले त्यो काम सकेपछि बैठक बसी योजना निर्माण गरेर काम गर्छौ’, वडाध्यक्ष मिश्राले भने। नरैनापुरमा शुक्रबार मात्रै कार्यपालिकाको निर्वाचन हुँदैछ। उक्त गाउँपालिकाका अध्यक्ष इश्तिहाक अहमद साहले उनी समदार व्यक्त भएको उल्लेख गर्दै जनताले रुचाएको जनप्रतिनिधि भएको टीप्पणी गरे।
‘मैले उहाँलाई सर्पोट पनि गरेँ, जनताको भरोसा र विश्वासले मिश्रा वडाध्यक्षमा निर्वाचित हुनुभयो,’ उनले भने। विगतको तुलनामा नरैनापुरको शिक्षा, स्वास्थ्य, बाटोघाटो सहज भएको उल्लेख गर्दै अध्यक्ष साहले दुःखको जिन्दगी बिताएका नरैनापुरवासीका सुखका दिन आएको दावी गरे।
पहिले विद्युतको पहुँच पनि थिएन, तर अहिले अधिकांश स्थानमा त्यसको पनि व्यवस्था गरिएको अध्यक्ष साहले बताए। नेपालगञ्जबाट पूर्व–दक्षिण दिशामापर्ने नरैनापुर पुग्न करिब दुई घण्टा लाग्छ । साविकका छ गाविस मिलेर बनेको नरैनापुर गाउँपालिकामा ३४ हजार ९४२ जनङ्ख्या छ।
इस्लाम र हिन्दू धर्मवलम्बीको बाहुल्यता रहेको सो पालिकामा कृषि नै जीविकोपार्जनको मुख्य आधार हो। यसलाई दुर्गम गाउँपालिकाकाको रुपमा समेत चित्रण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।