काठमाडौं- एमाले सांसद एवं उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अघिल्लो एमाले सरकारले देखेका सपनाहरुमै आधारित भएर बजेट आएको दाबी गरे।
उनले २०५१ सालदेखि अहिलेसम्म एमालेले विकासको ट्रेण्ड जे देखेको छ त्यही अनुसार अघि बढेकोमा खुशी लागेको बताए। ‘यो सरकार नेपाली कांग्रेसको नेतृत्वमा छ। २०५१ सालमा एमालेको सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्दा कनिका छरेको टिप्पणी गरिएको थियो’, उनले भने,‘अहिले त वृद्धभत्ताको उमेर बढाउन तयार हुनुभयो।’
उनले सुनकोशी मरिन डाइभर्सन,पूर्वपश्चिम रेल मार्ग र पानी जहाजको योजना एमालेले अघि सारेको भन्दै उनले एमाले विकासको ट्रेन्ड सेटर भएको दाबी गरे। ‘एमालेले जे शुरुवात् गर्छ त्यो स्थानमा तपाईंहरु अहिले आइपुग्नै भएको छ।’
उनले अहिलेको बजेट कार्यान्वयन हुन नसक्ने दाबी गरे। यो सरकार चुनावी भएको र चुनावी वर्ष भएकाले ठूलो आकारको बजेट निर्माणमात्र गरेर कार्यान्वयन नहुने तर्क गरे।
‘मंसिरसम्म निर्वाचन गर्ने भनेर सत्ता पक्षभित्रै छलफल भएको सुनिन्छ ’ उनले भने ‘यो ठूलो अंकमा आएको र मंसिरपछि कुन सरकार आउने हो अनि कसरी विकास हुन्छ।’
उनले यति ठूलो आकारको बजेट कसरी कार्यान्वयन हुन्छ भनि प्रश्न गरे। ज्ञवालीले राजश्व बढाउने र आयात घटाउन कुरा मात्र गरिएको तर सम्भव नभएको बताए।
उनले ८ प्रतिशत आर्थिक बृद्धि हुन नसक्ने दाबी गरे। उनले विकासका ठूला आयोजनाहरु गिजोल्ने कुरा किन भइरहेको भन्दै प्रश्न गरे। विगतमा एमससी र अहिले बुढीगण्डकीमा त्यस्तै भएको उनले बताए। बुढीगण्डकी विगतमा चीनलाई दिने भनिएको भए पनि अहिले किन नदिने भनियो भन्दै उनले प्रश्न गरे।
‘विगतमा आफैंले एमसीसीमा हस्ताक्षर गर्ने अनि पछि आगो बाल्ने हुदै पारित गर्ने काम भयो’ उनले भने ‘पश्चिम सेतीमा पनि यस्तै कार्य भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।