फाइल तस्बिर
हेटौंडा–राट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ विषयक मार्गचित्र प्रस्तुत गरेका छन्। हेटौँडामा राप्रपा नेपाल मकवानपुरले बुधबार आयोजना गरेको बृहत् अन्तर्क्रियामा उनले देशका लागि वैकल्पिक मार्गचित्र प्रस्तुत गरेका हुन्।
त्यसअवसरमा उनले अहिले देश नीतिगत, संरचनागत, आर्थिक दिशा अन्योलग्रस्त रहेको र सही दिशामा नगइरहेको बताए। २००७ सालदेखिे हालसम्मको राजनीतिक इतिहास हेर्ने हो भने हरेक १५–२० वर्षमा संविधान बदलिएकाले राजनीतिक स्थिरता नभएको उल्लेख गर्दै उनले बहुदलीय व्यवस्था भए पनि सत्तामा जाने दलले राज्यको हरेक संवैधानिक अंगलाई आफ्नो अनुकूल बनाइ राज्य सत्तामा पकड बनाउँदा संसदीय व्यवस्थाले अपेक्षाअनुसार काम गर्न नसकेको बताए।
उहाँले शासन व्यवस्था प्रजातान्त्रिक भए पनि देशको आर्थिक अवस्था जनताले अपेक्षा गरेअनुसार उपलब्धि हुन नसकेको, राष्ट्रियता कमजोर भएको र भ्रष्टाचार मौलाएका कारण देश कमजोर हुँदै गएकाले देशलाई सही दिशानिर्देश गर्न राप्रपा नेपालले देशभरि वैकल्पिक मार्गचित्र लिएर जनतामाझ आएको जिकिर गरे।
उनले वैकल्पिक मार्गचित्रबारे जानकारी दिँदै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक आधारमा निर्वाचित संसद्को व्यवस्था, उदार अर्थतन्त्र, पारदर्शी जवाफदेही भ्रष्टाचारमुक्त प्रशासन, लोककल्याणकारी ग्रामीण अर्थतन्त्रमा सरकारको भूमिका, निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थव्यवस्था सञ्चालन गर्ने व्यवस्थाबाट देश सही दिशामा जाने दाबी गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।