काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उनले भेटेका हुन्।
भेटमा प्रधानमन्त्री देउवाले चमत्कार गरेको प्रतिक्रिया दिएको शाह निकटस्थले बताएका छन्। भेटमा देउवाको भनाइलाई उद्धृत गर्दै भनिएको छ, ‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ।'
प्रधानमन्त्री देउवाले आवश्यक परेका बेला मात्रै होइन, आफूलाई २४ अैं घण्टा सम्झन सक्नेसमेत बताएको उल्लेख गरिएको छ। महानगर कार्यपालिकामा कांग्रेसको बहुमत रहेकाले सहयोग गर्ने देउवाले बताएका छन्।
प्रधानमन्त्री देउवाले महानगरको फोहोर व्यवस्थापनका लागि सबै उपाय लगाउन सुझाएका छन्। साथै भनेका छन्, ‘फोहोर व्यवस्थापनको लागि जे–जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’
प्रधानमन्त्री देउवासँगको भेटपटि मेयर बालेन्द्र शाहले एक वक्तव्य जारी गर्दै बुधबारको भेटले आफूमा ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन्। उनले आफ्ना लक्ष्यहरू विशाल र पवित्र रहेको बताउँदै आम मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता रहेको औंल्याएका छन्। सोही अभियानका क्रममा सबैसँग सहकार्यका लागि भेट गर्न थालेको उनको भनाइ छ।
‘राजनैतिक रूपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन। स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ’, उनले भनेका छन्।
काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिपर्तनका लागि छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तिसँग भेट गर्ने गरेको शाहले बताएका छन्।
उनले भेटघाटको सिलसिला उम्मेदवारी घोषणा गर्नुअघिदेखि सुरु भएर निकै पछिसम्म रहिरहने प्रतिबद्धता जाहेर गरेका छन्। समय अनुकूलताका कारण कसैसँग अघि या पछि भेट भए पनि त्यसलाई अन्यथा नबुझ्न शाहले अनुरोध गरेका छन्।
उनले समन्वय र सहकार्यकै लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको र बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको बताएका छन्। ‘यसैक्रममा केहिअघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौं, आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौं। भेटघाटका क्रममा उहाँहरूले दिनुभएको प्रेरणाले हामीलाई थप उmर्जावान बनाएको छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।