सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक
काठमाडौं– स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सत्तारुढ पाँच दलीय गठबन्धनबीच संसदीय निर्वाचन गर्ने विषयमा पनि छलफल अघि बढेको छ।
स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा संसदीय निर्वाचन गर्ने विषयमा छलफल भएको हो।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कात्तिकभित्रमा नै संसदीय निर्वाचन गर्ने विषयमा बैठकमा छलफल सुरु भएको नेपाललाइभलाई जानकारी दिए।
‘चुनाव ढिलाइ गर्न हुन्न, प्रतिनिधि सभाको कार्यकाल सकिने क्रममा नै रहेकाले कात्तिकमै गर्नुपर्छ भन्ने छलफल भएको छ,’ उनले भने, ‘तर, यही मितिमा गर्ने भनेर सहमति भने भइसकेको छैन।’
उनले कात्तिक वा मंसिरको पहिलो साता कुन समयमा गर्न उपयुक्त हुन्छ भन्नेबारे पनि विभिन्न नेताहरूका धारणा आएको भन्दै दलहरू छिट्टै सहमतिमा पुग्ने प्रष्ट पारे।
‘हाम्राबीचमा छलफल भएर मात्रै भएन, यस विषयमा निर्वाचन आयोगसँग पनि सरकारले छलफल गर्नुपर्छ,’ उनले भने, ‘दलहरूबीच सहमति भएपछि सरकारले आयोगसँग छलफल गरेर मिति तय होला।’
गठबन्धनको बैठकमा सहभागी भएका अर्का एक नेताले पनि कात्तिक २७ वा मंसीर ४ मा संसदीय निर्वाचन गर्ने कि भन्ने बारेमा नेताहरूबीच छलफल भएको जानकारी दिए।
२०७४ मंसिरमा नै यसअघि संसदीय निर्वाचन भएको थियो। दुई चरणमा मंसिर १० र २१ गते यसअघि संसदीय निर्वाचन भएको थियो। उता निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले पनि मंसिर १५ अगाडि संघ र प्रदेशको निर्वाचन गर्ने गरी आयोग तयारीमा जुटेको बताएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘आयोग मंसिर १५ अगाडि संघ र प्रदेशको निर्वाचनका लागि आन्तरिक तयारीमा लागिसकेको छ। कर्मचारी व्यवस्थापनदेखि कार्यविधि बनाइरहेको छ।’
उनले आयोगलाई चाहिने १२० दिनको समयसीमा अनुसार नै निर्वाचन गराउनका लागि सरकारलाई सिफारिस गर्ने बताए।
‘हामीलाई चाहिने १२० दिन हो। त्यसै अनुसार सरकारसँग परार्मश गर्छौं। सर्वदलीय बैठक राख्छौं र निर्वाचन प्रकृया अगाडि बढाउँछौं,’प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।