काठमाडौं– प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले कैलालीको गेटामा निर्माणधीन मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्।
आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सुदूरपश्चिमको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका हुन्।
‘बजेटमा केही कुरा ढाकछोप र झुटो बोल्ने काम भएको छ। देउवा जी पाँचौपटक वा अन्तिम पटक प्रधानमन्त्री हुनुभएको छ,’ उनले भने, ‘गेटा मेडिकल कलेजलाई जहिले पनि आकर्षणको केन्द्र बनाउने गरिएको छ। अहिले आएर डडेल्धुरामा बनाइने पनि भनिएको छ। यो भन्दा राम्रो विकल्प हामीले दिएका थियौं। गेटालाई अब मेडिकल कलेज होइन, प्रतिष्ठान पनि होइन। राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुस् भनेका थियौं। तर, अर्थमन्त्री ज्यूले त्यो सुन्नु भएन्।’
देशमा चारदर्जन बढी मेडिकल कलेज र ७ वटा प्रतिष्ठान रहे पनि सुदूरपश्चिममा अहिलेसम्म कुनै पूर्वाधार नबनेको भन्दै त्यसतर्फ बजेटले ध्यान नदिएको उनको गुनासो छ।
‘गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाएर महाकाली सेती र डडेल्धुराको संघीय अस्पताल जोडेर अघि लैजाउ भनेका थियौं,’ उनले भने, ‘हामीलाई चाइने स्वास्थ्य क्षेत्रमा दक्षजनशक्ति उत्पादन गर्न सक्छौं भनेर भन्दा पनि सुनुवाइ भएन। अर्थमन्त्री ज्यूले कतै उल्लेख गर्नुभएन।’
उनले ११ वर्षअघिदेखि नै अध्ययन गरेर बजेटमा समावेश भइसकेको दोधारा–चाँदनीमा सुख्खाबन्दरगाहाको काम अहिले सुरुवात गरिनेछ भनेर राख्नु जनताको आँखामा छारो हाल्ने काम भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।