काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीलाई हल्का रूपमा नलिन प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।
माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले विगतमा एमालेमा देखिएको अहंकार कांग्रेसमा पनि देखिन थालेको टिप्पणी गरेका छन्।
मिहेनत गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइए पनि अहिले कांग्रेसमा देखिएको अहंकारले चिन्तित बनाएको उनले उल्लेख गरेका छन्।
उनले भने, ‘हिजो एमालेमा देखिएको अहंकारजस्तै अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। मिहेनत गरेर नै प्रधानमन्त्री बनाएको हो। तर, अहिले चिन्तित छौं।’
उनले कांग्रेसमा पनि एमालेजस्तै दम्भ र अहंकार चुलिएर आउने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले चेतावनी दिँदै भने, ‘कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर आउने हो कि भनेर चिन्तित छौं। ‘एमालेलाई ठेगाना लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्न चाहन्छु।’
उनले कांग्रेस र कांग्रेसका नेतालाई अहंकार र दम्भ नपाल्न अनुरोध गरेका छन्। आगामी निर्वाचनसम्म नै माओवादीले गठबन्धन बनाएरै अघि बढ्न चाहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि कांग्रेसले चुलिँर्दै गएको दम्भ र अहंकार त्याग्नुपर्ने बताए।
उनले भने, ‘कांग्रेसमा एमालेजस्तै दम्भ र अहंकार आयो भने त्यसका लागि फेरि पनि विद्रोह गर्ने दिन आउनेछ। अस्तिको गठबन्धनको बैठकमा पनि यो विषयलाई गम्भिर रूपले उठाइएको छ। स्थानीय तहको निर्वाचनमा जुन हिसाबले गतिविधि देखियो, अब त्यो नहोस् भन्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।